
मकवानपुर । समाज विकास तथा वातावरण सुधार नेपाल, बनेपाको आयोजनामा, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आर्थिक सहयोग तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको समन्वयमा संघअन्तर्गतका सदस्य साकोसलाई लक्षित गरी एकदिवसीय साईबर सुरक्षा जनचेतना सम्बन्धी कार्यक्रम मंगलबार संघको आफ्नै भवनमा सम्पन्न भएको छ।
कार्यक्रमका सभाअध्यक्ष समाज विकास तथा वातावरण सुधार नेपालका कम्पनी सचिव श्री विशाल हुमागाईं रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरका अध्यक्ष श्रीमती कल्पना श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, व्यवस्थापन टोली तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
जनचेतनामूलक कार्यक्रमको मुख्य विषय साईबर सुरक्षा रहेको थियो। कार्यक्रमको सहजीकरण साईबर सेक्युरिटी एक्सपर्ट श्री कुमार पुँडासैनीले गर्नुभएको थियो। उहाँले नेपाल हाल साईबर आक्रमणको उच्च जोखिममा रहेको देशमध्ये अग्रस्थानमा रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय नेपालमा मालवेयर, म्यालिसियस आक्रमण, फिसिङ, लटरी, चिठ्ठा, बोनस तथा गिफ्ट जस्ता प्रलोभन देखाएर गरिने साईबर अपराधका घटना बढ्दो क्रममा रहेका छन्। ह्याकरहरूले कुनै पनि प्रणाली ह्याक गर्न औसतमा १८ मिनेट मात्र लाग्ने क्षमता राख्ने भए पनि सो घटना पत्ता लगाउन साईबर विज्ञलाई कम्तीमा ७ घण्टा लाग्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो।
सहभागीहरूलाई सचेत गराउँदै उहाँले कुनै पनि अपरिचित लिङ्क, इमेल वा सन्देशमा तुरुन्त क्लिक नगर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। कार्यक्रमले सहकारी क्षेत्रमा साईबर सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।







