जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको आयोजनामा ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “कविता प्रतियोगिता तथा तनाव व्यवस्थापन कार्यशाला” कार्यक्रम फागुन २४ गते, आइतबार संघको आफ्नै भवनमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता संघकी अध्यक्ष कल्पना श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकार, हेटौँडाका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। उक्त कार्यक्रमको उद्धघाटन प्रमुख अतिथिद्धारा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रम संचालन संघका सचिव वीरेन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
संघले यस वर्ष सदस्य सहकारी संस्थाहरूका सञ्चालक पदाधिकारी, उपसमिति सदस्य, पूर्व सञ्चालक तथा कर्मचारीहरूलाई लक्षित गर्दै उक्त कविता प्रतियोगिता कार्यक्रम आयोजना गरेको हो। कविताको मुख्य थिम “Give To Gain” अर्थात् “सहयोग, समर्थन, मार्फत् महिलाहरुको सशक्तिकरण” विषयमा १५० शब्द नबढाई लेख्नको लागि आवह्यन गरिएको थियो । प्रतियोगिता मार्फत् सहभागीहरूलाई सिर्जनात्मक अभिव्यक्तिको माध्यमबाट महिला अधिकार, समानता र सशक्तिकरणका विषयहरू प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।
यस वर्षको अन्तर्राष्ट्रिय नारा “Rights, Justice, Action. For ALL Women and Girls” अर्थात् “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” लाई आत्मसाथ गर्दै सहकारी संस्थाहरूले महिला सशक्तिकरण, नेतृत्व विकास तथा आर्थिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र आगामी दिनहरूमा पनि यसलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने कुरामा कार्यक्रमका विशिष्ट अतिथिहरुले आफ्ना शुभकामना मन्तव्यमा जोड दिएका थिए।
प्रतियोगितामा प्राप्त जम्मा १८ वटा कविताहरु मध्येबाट निर्णायक मण्डल निर्णयानुसार पहिलो मूल्याङ्कनमा पर्न सफल भएका उत्कृष्ट १० जना सहभागीहरूलाई छनौट गरी कविता वाचनका लागि अवसर प्रदान गरिएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको थियो। उक्त प्रतियोगितामा प्रथम स्थान डि.बी बर्तौला, द्धितीय स्थानमा अचला शर्मा, तृतीय स्थानमा मेनुका दाहाल र प्रोत्साहनको रुपमा युवराज तिमल्सिनाले उपाधि हासिल गर्नुभएको थियो ।

सोही अवसरमा आयोजित “तनाव व्यवस्थापन कार्यशाला” मामा घर नेपालका संरक्षक अर्पण पराजुलीद्वारा सहजीकरण गरिएको थियो। कार्यशालामा सहभागीहरूलाई दैनिक जीवन तथा कार्यक्षेत्रमा देखिने तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उपाय तथा मानसिक स्वास्थ्यको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, संघका पदाधिकारी, उपसमिति, कर्मचारीहरु तथा सहकारी संस्थाका प्रतिनिधिहरु सहित जम्मा ५६ जनाको उल्लेखनीय सहभागितामा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले महिला सशक्तिकरण, सिर्जनशीलता अभिवृद्धि तथा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको संघका अध्यक्ष कल्पना श्रेष्ठले बताउनु भएका थिए ।







