
हेटौँडा। जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुर (माफ्स्कून) को आयोजनामा संचालित “विपद्मा रक्तदान-जीवनदान महा अभियान” अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
हेटौँडा-२, शान्तिपथस्थित संघको आफ्नै भवनमा बिहान ७:०० बजेदेखि १० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कुल २7 जना रक्तदाताहरुबाट रगत संकलन भएको छ।
हाल देशमा उत्पन्न प्राकृतिक विपद्का कारण अस्पतालहरूमा हुनसक्ने रगतको अभावलाई सम्बोधन गर्न र रगतको कमीले कसैको पनि ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यका साथ यो बृहत् कार्यक्रम आयोजना गरिएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, हेटौँडाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। उक्त अवसरमा सहभागी भई अमूल्य रक्तदान गर्ने सबै रक्तदाताहरूलाई संघका तर्फबाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
विपदको यस कठिन घडीमा मानवीय जीवन रक्षाका निम्ति अतुलनीय एवं उच्च सामाजिक योगदान पुर्याउने सम्पूर्ण सहकारीकर्मी, रक्तदाता, प्राविधिक टोली तथा सहयोगी महानुभावहरूमा संघले हार्दिक आभार व्यक्त गरेको छ।







